४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
महाचुनाव बन्दैछ उपचुनाव : चितवन र बाराजस्तै तनहुँमा पनि हेभिवेट भिडन्त - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारफिचरबिचित्रमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

महाचुनाव बन्दैछ उपचुनाव : चितवन र बाराजस्तै तनहुँमा पनि हेभिवेट भिडन्त

चैत १७, चितवन। मंसिरको आम चुनावका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपचुनाव मा पनि देखिने पक्का भएको छ । राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका हेभिवेट उम्मेदवारहरु आगामी १० वैशाखमा हुने उपचुनावमा खडा हुने भएकाले यो चुनावको महत्व अरु बेलाका उपचुनावभन्दा बढ्ता देखिएको हो ।

चितवन २ मा यसअघि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रमाणपत्रका कारण खारेज भएको थियो । यसबीचमा उक्त मुद्दा निप्टारा लागे पनि गुमेको पद प्राप्त गर्न उपचुनावमा चुनिएरै आउनुपर्ने हुन्छ । रविको प्रतिस्पर्धीका रुपमा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । चितवन कांग्रेसका पूर्वसभापति रहेका श्रेष्ठ १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

एमालेले यसअघि उठाएका उम्मेदवार कृष्णभक्त पोखरेलकाे ठाउँमा अर्को उम्मेदवार दिने सम्भावना छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव यसअघि चुनिएको बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वयं लड्न जाँदैछन् । सप्तरी–२ मा चुनाव हारे पनि बारा–२ को बाटो हुँदै संसद छिर्ने उपेन्द्रको चाहनाकै लागि रामसहायले उपराष्ट्रपतिको प्रस्ताव स्वीकार गरेका थिए ।

यति हुँदाहुँदै पनि उपेन्द्रलाई सजिलो भने हुने छैन । किनभने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना एक शीर्षस्थ नेता राजेन्द्र महतोलाई त्यहाँ उम्मेदवार बनाउँदैछ । लोसपा नेता महतोले अनलाइनखबरसँग कुरा गर्दै बाराका जनताले आफूलाई खोजेको दाबी गरे ।

आफू सर्लाहीबाट आम चुनावमा पराजित भए पनि बाराका जनताले प्रतिनिधिसभामा हेर्न चाहेको बताए । ‘मलाई त्यहाँबाट धेरै फोन आयो, त्यसैले लड्न जाँदैछु’ महतोले भने, ‘तपाईं हेर्नुहोला, म जित्छु । जितेर आउँछु ।’

अनि यसअघि रामसहायसँग ३५० मतले पराजित शिवचन्द्र कुशवाह आफ्नो पुरानो दल माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश गरेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवार बनाउने प्रस्ताव गरिसकेका छन् । राउत तिनै नेता हुन्, जसले उपेन्द्रलाई मंसिरमा सप्तरीबाट हराएका थिए ।

विश्लेषक झलक सुवेदीको भनाइमा आम चुनावबाट हारे पनि उपचुनावबाट आउन खोज्नुले उपेन्द्रको महत्वाकांक्षा दर्शाउँछ । ‘सुनसरीका उपेन्द्रलाई सप्तरीमा हारेर बारामा लड्न आउनुपर्ने स्थिति शक्तिकेन्द्रित राजनीतिले नै ल्याएको हो’ सुवेदीले भने, ‘राजनीतिमा नैतिकताको कुरा तपसिल हो भन्ने देखियो, केवल शक्तिको खेला मात्रै हो भन्ने उपचुनावमा प्रमाणित हुँदैछ ।’

बारा–२ मा नेकपा एमालेले भने उम्मेदवार तय गरिसकेको छैन । उपमहासचिव विष्णु रिमालले शुक्रबारसम्म उम्मेदवार टुंगो लगाउने बताए ।

चितवन, बाराजस्तै तनहुँ पनि हटस्पट बन्दैछ, जहाँबाट यसअघि जित्दै आएका रामचन्द्र पौडेल भर्खरै राष्ट्रपति बनेका छन् । त्यस ठाउँमा कांग्रेसले पठाउँदैछ केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई । उनीसँग लड्नका लागि एमालेले स्थायी कमिटी सदस्य किरण गुरुङलाई पठाउने प्रबल सम्भावना छ । यिनै दुई उम्मेदवारको बीचमा रोचक प्रवेश हुँदैछ स्वर्णिम वाग्लेको ।

यसअघि कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक रहेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी कांग्रेसकै तर्फबाट आयोगमा गए पनि पछिल्लो समयमा सभापति शेरबहादुर देउवाको हेपाइका कारण बस्न नसकेको जिकिर गर्दै पार्टी परित्याग गरेका छन् । रास्वपाले उनलाई तनहुँ १ मा उम्मेदवार बन्न प्रस्ताव गरिसकेको छ । वाग्लेको प्रवेशकै कारण अब तनहुँ १ को उपचुनाव पनि रोचक मोडमा पुग्ने पक्कापक्की भएको छ ।

स्थापित पार्टीहरुमा आम चुनावकै बेला युवाहरुको प्रश्न उठेको देखिए पनि उपचुनावका बेला त्यो क्रम अझै बढ्ने देखिएको विश्लेषक सुवेदी बताउँछन् । ‘आम चुनावभन्दा पनि कतिपय अर्थमा उपचुनाव रोचक बन्ने देखिंदैछ’ उनले भने, ‘ठूला पार्टीहरुलाई आफ्ना निर्णयहरुको पुनर्विचार गर्ने, अनि आत्मसमीक्षाका लागि ठाउँ समेत खोल्न सक्छ ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button