३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कालीकोटमा भीरबाट लडेर मृत्यु हुनेको संख्या बढ्दै - Nepal Rastra Khabar
Banner news (with photo)ताजा समाचारदेशमुख्य समाचार

कालीकोटमा भीरबाट लडेर मृत्यु हुनेको संख्या बढ्दै

कालीकोटमा भीरबाट लडेर मृत्यु हुने संख्या वृद्धि हुँदै गएको छ।

घाँस, दाउरा, मेलापात गर्ने भीरालो जमिनमा जानुपर्ने भएकाले भीरबाट लडेर मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्यांकअनुसार चार वर्षमा भीरबाट लडेर २८ जनाले ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०७६/७७ मा छ, ७७/७८ मा सात, ७८/७९ मा पाँच र चालू आर्थिक वर्षको माघ महिनासम्म ११ जनाले लडेर ज्यान गुमाएका हुन्।

माघयता कालीकोटमै तीनजनाको रुख र भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्यांकमा उल्लेख छ। विगत वर्षभन्दा चालू आर्थिक वर्षमा भीरबाट लडेर मृत्यु हुनेको संख्या धेरै छ।

घाँसपात, स्याउला, सोत्तरका लागि ज्यानै जोखिममा राखेर भीरमा जानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयका कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए।

भीरबाट लडेर मृत्यु भएपछि शवपरीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले बताए।

कालीकोटका कठिन भूगोल भएका कारणले किसानहरू भीर तथा रुखमा घाँस दाउरा गर्न जाने त्यहीँबाट लडेर मृत्यु हुनेको संख्या धेरै रहेको जोखिम बढी भएका किसानको गाउँपालिकाले बीमा गर्न खोजे कुनै पनि बीमा कम्पनीले नमानेको अध्यक्ष कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन केसीले बताए।

Related Articles

Back to top button