१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सानो खाजा पसलबाट सुरू गरेका थिए, अहिले बनाए साढे २ अर्बको पाँचतारे होटल – Nepal Rastra Khabar
Banner news (with photo)Uncategorizedताजा समाचारमुख्य समाचारसफलताको कथा

सानो खाजा पसलबाट सुरू गरेका थिए, अहिले बनाए साढे २ अर्बको पाँचतारे होटल

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रूपन्देहीको भैरहवामा पाँचतारे होटल निर्माण गरेको छ। सिद्धार्थ इन्टरनेसनल होटल २०८० सालदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ।

यो समूहले २५ वर्षअघि कैलालीमा सामान्य खाजा पसल सञ्चालन गरेर व्यावसायिक यात्रा सुरू गरेको थियो। २०५४ माघ २३ गते टीकापुरमा खाजा पसल खोलेको दिनका आधारमा मंगलबार समूहले २५ औं वार्षिक उत्सव मनायो। यही अवसरमा पाँचतारे होटलको उद्घाटन पनि गरिएको हो।

भैरहवा अञ्चलपुर प्रहरी चेकपोस्टदेखि दुई सय मिटर पश्चिमतिर मायादेवी गाउँपालिका वडा नम्बर ८ मा छ यो होटल।

चार विघा क्षेत्रफलमा फैलिएको होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विट गरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन्।

समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार होटलमा लबी लाउन्ज, अल डे डाइनिङ, रूफ टफ रेस्टुरेन्ट तथा स्वीमिङ पुल, फिटनेस, स्पा, साउना, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, एउटा सानो र अर्को ठूलो सभा हल, ३ वटा कन्फरेन्स हल तथा क्यासिनो छ।

‘होटलमा साढे दुई अर्बभन्दा धेरै रूपैयाँ लगानी परेको छ। पूर्ण सञ्चालनपछि तीन सय जनाभन्दा बढीले रोजगारी पाउने छन्,’ उनले भने।

सुरूमा दुई वर्षमै निर्माण सक्ने र एक अर्ब रूपैयाँ बढी लागत अनुमान थियो। कोरोना महामारीका कारण योजनाअनुसार काम भएन। ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पूर्वाधार पनि थपिँदै जाँदा लागत बढेको न्यौपानेले बताए।

ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले आगामी चैतभित्र सिद्धार्थ होटल तथा रिसोर्टका नाममा भैरहवासँगै, चितवनको सौराहा, दाङको लमही र विराटनगरमा पाँचतारेदेखि लक्जरी रिसोर्टसम्म सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए। भैरहवाको डिलक्स पाँचतारे होटल ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको उनको भनाइ छ। दाङको लमहीमा पनि यही महिनाभित्रै चारतारे होटल सञ्चालनमा ल्याउन लागेको उनले बताए।

भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ। ६० कोठासहितको लमहीको चारतारे होटलमा भने व्यवस्थापन मात्र हेर्ने गरी लिएको हो। सौराहाको रिसोर्टमा २५ र विराटनगरको होटलमा ४० वटा कोठा रहने अध्यक्ष न्यौपानेले बताए।

चार वटा होटल र रिसोर्ट थपिएपछि सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफेको संख्या ३० पुग्नेछ। होटल मात्र १९ वटा हुने छन्।

समूहले हस्पिटालिटी क्षेत्रको २५ वर्षे व्यावसायिक यात्रामा पाँचतारे होटल भने पहिलोपटक सञ्चालन गरेको हो। बाह्य पर्यटक लक्षित तीनतारे र चारतारे होटल भने यसअघिदेखि नै सञ्चालन गरिरहेको छ। कटेज तथा रेस्टुरेन्ट व्यवसायबाट यात्रा विस्तार गरेको समूहले बुटवलमा सिद्धार्थ कटेज तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ। समूहले हस्पिटालिटीसँगै विभिन्न सेवा तथा उत्पादनको क्षेत्रमा पनि लगानी गरिरहेको छ।

‘ट्रेडिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट र आइटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनतर्फ बायोटिका, इन्स्टिच्युटतर्फ सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी ब्रान्ड नाममा सेवा प्रवाह तथा वस्तु उत्पादन गर्दै आएका छौं,’ अध्यक्ष न्यौपानेले भने।

यस्तै जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, काभ्रेको धुलिखेल, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको उनले बताए। आफ्नै दाजुभाइ, नजिकका आफन्त तथा अन्य व्यावसायिक साझेदार गरी १ सय २० जना सेयर सदस्य रहेको समूहका सबै शाखामा गरी हाल १ हजार ६ सय जनाले रोजगारी पाएका छन्।

२५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए।

‘अर्थतन्त्र विकासको मुख्य आधार पर्यटन क्षेत्र हो,’ मुख्यमन्त्री गिरीले भने, ‘निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिका प्रशंसनीय छ।’

प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको पनि उनले बताए। ठूला व्यावसायिक घराना र पूर्वाधारले मुलुकको आर्थिक क्षेत्रमा टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सिद्धार्थ समूहले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए।

त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ समूहले पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button