अहमदावाद विमान दुर्घटना : सवार सबैको मृत्यु

चितवन । भारतको अहमदावादमा दुर्घटनामा परेको विमानमा सवार सबैको ज्यान गएको प्रहरीले जनाएको छ ।
अहमदावादका प्रहरी आयुक्तलाई उद्धृत गर्दै समाचार संस्था एपीले दुर्घटनाग्रस्त विमानमा सवार २ सय ४२ जनामध्ये सबैको ज्यान गएको छ ।
‘अहमदावाद विमान दुर्घटनामा कोही पनि जीवित नरहेको देखिन्छ ।’ आयुक्त जीएस मलिकले एपीलाई भनेका छन् । कार्यालयहरू समेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीहरुले पनि ज्यान गुमाएको हुनसक्ने उनले बताए ।
दुर्घटनामा मारिएकाहरुको सङ्ख्या यकिन गर्ने प्रयास भइरहेको उनको भनाइ छ । बिहीबार दिउँसो लण्डनको ग्याट्विक विमानस्थलका लागि उडान भरेको एअर इण्डियाको विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । टेक अफ गरेको केही मिनेटभित्रै बोइङ ७८७ ड्रिमलाइनर विमान नजिकै रहेको चिकित्सकहरूको आवास क्षेत्रमा बज्रिन पुगेको थियो ।
गुजरातको अहमदावादबाट लण्डनका लागि दिउँसो १ः३८ बजे उडान भरेको बोइङ ७८७ ड्रिमलाइनर विमान (फ्लाइट नं एआई–१७१) दुई मिनेटपछि नै दुर्घटनामा परेको थियो।
विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानडियन नागरिक सवार थिए।