रूसी राष्ट्रपति पुटिनद्वारा युक्रेनलाई शान्ति वार्ताको प्रस्ताव

चितवन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष शान्ति वार्ताको प्रस्ताव गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार आइतबार क्रेमलिनबाट राष्ट्रपति पुटिनले रूस–युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धका कारणहरुको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका हुन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् । उनले किभलाई पूर्वसर्तबिना प्रत्यक्ष वार्ताको सुरू गर्न प्रस्ताव गर्ने बताउँदै भनेका छन्, ‘किभका अधिकारीहरूलाई बिहीबार इस्तानबुलमा वार्ताका लागि प्रस्ताव गछौँ ।’
उनले त्यसको चाँजोपाँजो मिलाउनका लागि टर्किका राष्ट्रपति तयिप एर्दोगानलाई भनेको समाचारमा उल्लेख छ । एर्दोगान रूस–युक्रेन युद्धविरामको पहलका लागि तयार भएको जबाफ एर्दोगानले दिएको पुटिनले बताएका छन् ।
उनले भने, ‘हाम्रो प्रस्ताव उनीहरूले भनेझै टेबलमा छ । अब निर्णय युक्रेनी अधिकारीहरूको हातमा छ ।’ पुटिनको उक्त प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ । साथै, उनले रूस शान्तिको पक्षमा छ भन्ने कुरा विभिन्न अवसरमा घोषणा गरिएका अस्थायी युद्धविरामहरूले पुष्टि गर्ने पनि बताएका छन् ।
रुसी र युक्रेनी वार्ताकारहरूले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन् । त्यसपछि द्वन्द्व निरन्तर जारी छ ।
ऊर्जा संरचनामा आक्रमण नगर्ने प्रतिबद्धता, इस्टरका अवसरमा गरिएका युद्धविराम र हालै दोस्रो विश्वयुद्धमा विजयी भएको ८० वर्ष पुगेको अवसरमा गरिएका ७२ घन्टाको युद्धविराम रूसले गरेको उनको भनाइ छ ।
यसअघि अमेरिकाको मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेका थिए । तर, ती वार्ता सफल हुन सकेन । रूसले युक्रेनसँग हाल कायम रहेका नियन्त्रणरेखालाई मान्यता दिएर सम्झौता गर्न तयार रहेको बताउँदै आएका छन् ।
युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए ।
क्रेमलिनमा १ः०० (शनिबार २३०० जिएमटी) बजेपछिको आफ्नो बयानमा पुटिनले त्यो आह्वानलाई स्पष्ट रूपमा सम्बोधन गरेनन् बरु यसको सट्टा ताजा रूस–युक्रेन वार्ताका लागि प्रति–प्रस्ताव प्रस्तुत गरे ।
“हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दछौँ र त्यस्तो वार्ता कुनै पनि पूर्व शर्तबिना होस् भन्ने म जोड दिन्छु”, पुटिनले भने ।
रुसको आक्रमण साम्राज्यवादी शैलीको भूमि कब्जा बाहेक अरू केही नभएको भन्दै किएभ र पश्चिमले ती सबैलाई अस्वीकार गरेका छन् ।
रुसले आफ्नो आक्रमण सुरु गरेदेखि दशौँ हजारको मृत्यु भएको छ भने लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।
“हामी यो वार्ताका क्रममा केही नयाँ युद्धविरामको सहमति हुन सक्ने कुरा अस्वीकार गर्दैनौँ”, पुटिनले भने ।