ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् ।
पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।
उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’
देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गरे । त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो ।
‘मैले यीनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन्,’ देउवाले भने ।
देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह पनि गरेका छन् ।