आठ महिनामा झण्डै २२ अर्बको स्मार्टफोन आयात

चितवन। चालु आर्थिक वर्षको आठ महिनामा झण्डै २२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएका छन् ।
भन्सार विभागको तथ्याङ्कअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात भएको हो । यसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यस अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल एवम् वायरलेस सञ्चारका उपकरण आयात भएको विभागले जनाएको छ । यसबाट २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन्। तीमध्ये चीन, भारत, अमेरिका, युएई, क्यानाडा जापान, कोरिया, भियतनाम लगायत देशबाट बढी मोबाइल सेट आयात हुने गरेको छ।
चीनबाट सबैभन्दा बढी १५ अर्ब ९ करोड ४८ लाख ५६ हजार रुपैयाँ बराबरको ११ लाख ७ हजार ८३ सेट मोबाइल आयात भएको विभागको तथ्यांकले देखाएको छ । त्यसैगरी भारतबाट ६ अर्ब ३९ करोड ९ लाख ६५ हजार रुपैयाँको मोबाइल आयात भएको छ ।