३ माघ २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
शेखर गोल्छाको शिक्षा क्षेत्रमा प्रवेश, माघदेखि सञ्चालन हुँदैछ एम्बार्क कलेज
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारशिक्षासफलताको कथा

शेखर गोल्छाको शिक्षा क्षेत्रमा प्रवेश, माघदेखि सञ्चालन हुँदैछ एम्बार्क कलेज

चितवन। उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा आउने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगी गोल्छाले शिक्षामा पनि लगानी थालेका हुन् ।

सामाजिक उत्तरदाहित्वस्वरूप सार्वजनिक शिक्षामा गोल्छा ग्रुपले धेरै अगाडि देखि खर्च गर्दै आएपनि नाफामूलक संरचना बनाएर शिक्षामा लगानी गरेको यो पहिलो पटक हो। गोल्छा समूहले अटोमोबाइल, इलोक्ट्रोनिक्स, फिनटेक, वैकल्पिक ऊर्जा, बीमा, पुनर्बीमा क्षेत्रमा लगानी गरिसकेको छ ।

Nepal Himalayas Tours and Travel

पुल्चोकस्थिति आफ्नै लगानीमा बनेको पूर्वाधारमा कलेज सञ्चालन गर्न लागिएको गोल्छाले बताए । ‘सामुदायिक स्कूल र कलेजको शिक्षामा गोल्छा समूहले दशकौं पहिलेदेखि लगानी गर्दै आएको हो । एम्बार्क कलेजमा हाम्रो पहिलो लगानी होइन, ’ गोल्छाले भने, ‘अहिले हामीले व्यावसायिक र सीपमूलक शिक्षामा जोड दिएका छौं । विश्वको उत्कृष्ट विश्वविद्यालयसँगको सहकार्यमा नयाँ कलेज सञ्चालमा ल्याउदैछौं ।’

गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानीमा एम्बार्क कलेज सञ्चालनमा ल्याइएको हो । उद्यमशीलतालाई सशक्त बनाउने, उद्योगको आवश्यकता तथा दिगोपन र सामुदायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको अध्यक्ष आशीष ठाकुर बताउँछन् ।

‘हामी यो घोषणा गर्न पाउँदा उत्साहित छौं, हामीले एम्बार्क कलेजको यात्रा सुरु गरेका छौं, अग्रगामी सोचका सीपमा आधारित व्यावहारिक शिक्षालाई बढावा दिन समर्पित हुनेछौं,’ ग्लोकल प्रालिका अध्यक्ष ठाकुरले भने ।

सन् २०२५ जनवरीदेखि अर्थात २०८१ माघदेखि कलेज सञ्चालनमा आउने छ । साथै, तत्कालका लागि दुइटा कोर्स पढाई हुने कलेजले जनाएको छ । चार वर्षे बिएससी बिजनेश म्यानेजमेन्ट र २ वर्षे मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) कोर्स सञ्चालन गरिने उनले जानकारी दिए ।

उक्त कोर्सहरू रोहेम्प्टन विश्वविद्यालय लन्डन (यूके)सँगको शैक्षिक साझेदारीमा सञ्चालन हुन लागेका हुन् । जुन विश्वको शीर्ष १५ भित्र पर्छन् । दुवै कोर्स अध्यापन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृतसमेत दिइसकेको कलेजले जनाएको छ ।

ललितपुरको पुल्चोकमा रहेको उक्त कलेजले विद्यार्थी भर्नासमेत खुला गरिसकेको छ । साथै, सबैलाई एम्बार्क कलेज भ्रमण गर्न निमन्त्रणा समेत गरिएको छ ।

अध्यक्ष ठाकुरका अनुसार कलेज सञ्चालनमा आइसकेको र अहिले भर्ना लगायतका कामहरू अघि बढिरहेको छ ।

‘ग्लोकल प्रालि र शेखर गोल्छाको संयुक्त लगानीमा कलेज सञ्चालनमा आइसकेको छ, सन् २०२५ जनवरीदेखि पढाइ सुरु गर्ने गरी भर्ना आह्वान गरेका छौं,’ उनले भने, ‘अहिले नयाँ र पहिलो ब्याच हुनेछ, त्यसैले धेरै विद्यार्थी संख्याको अपेक्षा गरेका छैनौं, नयाँ तरिकाले अघि बढ्ने र गुणस्तरीय शिक्षामा जोड दिने योजना छ ।’

उनका अनुसार कलेजले विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई स्कलरसिप दिनेछ । साथै, शतप्रतिशत विद्यार्थीलाई ट्यूसन फिमा १० प्रतिशत स्कलरसिप दिइने उनको भनाइ छ ।

‘शिक्षा मन्त्रालयले १० प्रतिशत स्कलरसिप दिनुपर्ने व्यवस्था गरेको छ, अब कति जना विद्यार्थी हुन्छन्, शिक्षा मन्त्रालयको नियमानुसार स्कलरसिप दिन्छौं,’ अध्यक्ष ठाकुरले भने, ‘त्यसमा १० प्रतिशत स्कलरसिप ट्यूसन फिमा छँदैछ ।’

भर्ना शुल्क रकम भने केही दिनमा सार्वजनिक गर्ने उनले बताए । कलेजमा पढाउने शिक्षक भने विदेशी र नेपाली गरी मिश्रित हुने उनको भनाइ छ ।

‘कलेजमा पढाउने शिक्षक मिक्स छन्, हामीले पार्टनरसिप गरेको यूनिभर्सिटीको प्रोभाइस चान्सलरलाई कलेजको प्रिन्सिपल बनाएर ल्याएका छौं, किनभने गुणस्तर कायम शिक्षा दिनुृपर्नेछ,’ अध्यक्ष ठाकुरले भने, ‘साथै विदेशमा पढेर आएका नेपालीहरूलाई पनि कलेजको शिक्षकमा नियुक्त गरेका छौं । र, केही शिक्षक विदेशबाट पनि ल्याएका छौं ।’

नेपाल सरकारको व्यवस्थाबमोजिम एक वर्षमा २ वटा कार्यक्रम (कोर्स) सञ्चालन गर्न पाइने छ । त्यसैले तत्कालका लागि २ वटा कोर्स सञ्चालमा आएपनि आगामी वर्षमा थप नयाँ कोर्स ल्याइने उनले बताए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button