साइबर कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च, बयान जारी
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ ।
प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित आफ्नै निजी निवासबाट पक्राउ परेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रसाईंले झुटा विवरण सार्वजनिक गरेसँगै ४ मंसिरमा पक्राउ परेका प्रसाइलाई बयानका लागि आज अदालत उपस्थित गराइएको हो।
प्रसाईंको रिहाईको माग गर्दै समर्थकले माइतीघर मण्डलामा प्रदर्शन समेत गरेका छन् । बुधबार माइतीघरमा जम्मा भएर ‘दुर्गा प्रसाईंको जिवन रक्षा गर’लगायतका नारा लगाउँदै रिहा गर्न समर्थकले माग गरेका हुन् ।
यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । बुवालाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए। सोही रिटमा यतिबेला सर्वोच्चमा प्रसाईंको बयान चलिरहेको हो।