काठमाडौँका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै
काठमाडौं । काठमाडौंका तीन ठाउँमा आज एकै दिन विभिन्न समूहले प्रदर्शन गर्दैछन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमाप्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए ।
त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन पाँच सय बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए । त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिने छन् ।
‘प्रहरीले लगातार पेट्रोलिङ पनि गर्ने उनले बताए । सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको प्रजिअ आचार्यले बताए ।
नेकपा एमालेले काठमाडौंमा आज जागरण सभा गर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।
एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ । यस्तै माइतीघरमा सहकारी पीडितहरूको प्रदर्शन चलिरहेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले पनि आजै काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दैछ ।