ताप्लेजुङको पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
ताप्लेजुङ। ताप्लेजुङको पाथीभराधाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ।
केही दिनयता चिसो बढिरहेको र हल्का वर्षा भएकाले यस क्षेत्रमा आज बिहानैदेखि सामान्य हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ।
हिमपातसँगै मौसम अझै चिसो बनेको छ। हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ हल्कारुपमा पर्न थालेको उनले बताए।
ताप्लेजुङको हिमाली क्षेत्रमा अघिल्लो वर्ष पहिलोपटक फागुन १५ गते हिमपात भएको थियो ।
यस वर्ष विगतका तुलनामा भन्दा छिटै हिमपात परेको र यो वर्षको जाडोमा अर्थात् पौषमा सोचे भन्दा अलि धेरै हिमपात हुन सक्ने अनुमान गरिएको छ।
पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने सो मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसोबाट जोगिन तीर्थयात्रीले सतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले सुझाव दिएको छ।