कीर्तिपुरको नगरप्रमुखमा २० जना भिड्ने पक्का
चितवन । यहि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको नगरप्रमुखमा (मेयर) मा २० उम्मेदवार मैदानमा उत्रिने पक्का भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार कीर्तिपुरको नगरप्रमुखमा २० जना उम्मेदवार भिड्ने भएका हुन् । मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपछि यहाँ उपनिर्वाचन हुने भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित भएका नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नकर्मीले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए । उक्त निर्वाचनमा ५५०७ मतसहित नेकपा एमाले उम्मेदवार केश रत्न बज्राचार्य दोस्रो र ४०९० मतसहित नेकपा (माओवादी केन्द्र) उम्मेदवार शिव शरण महर्जन तेस्रो स्थानमा रहेका थिए ।
वडा नम्बर १ मा नौं र वडा नम्बर ४ मा १२ उम्मेदवार
आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका–१ को वडा अध्यक्षमा नौं जना र वडा नम्बर–४ को वडाध्यक्षमा १२ जनाले चुनाव भिड्ने पक्का भएको छ । निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिकाले दिएको जानकारी अनुसार उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको हो ।
हेर्नुस् उम्मेदवारको अन्तिम नामावली