नबिल बैंक आठौं पटक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक
चितवन । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठपटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।
यसै दिन सरकारले क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान पनि गर्दै आएकोमा नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थातर्फ अहिलेसम्म आठ पटक यो सम्मान पाएको छ । यो वर्ष पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंक लिमिटेडलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
आज (शनिबार) आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।
नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरूसहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो । विशेष गरी कर्पोरेट ट्याक्स सबैभन्दा बढी बुझाएको कारण नबिलले यो सम्मान पाएको हो ।