छठ पर्व सुरु, आज ‘नहाय खाय’
चितवन। तराई-मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ विधिवत रुपमा सुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वको आज ‘नहाय खाय’ विधिसँगै विधिवत रुपमा छठ प्रारम्भ भएको हो।
कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ।
छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो । आदिदेव सूर्य भगवान्लाई अर्घ्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले शृङ्गारिँदै छ । खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरीलगायत पोखरीलाई सजाइएको छ ।
गङ्गासागरमा तीन वटा समितिले छठको तयारी गरिरहेको छ । गङ्गासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि गरेका । उनले छठ घाटमा अर्घ्य लिएर आउने श्रद्धालुहरूका लागि घाटमा नम्बरिङ गरिएको बताए ।
उनले पछिल्लो तीन वर्ष प्रतिअघ्र्य रु पाँच सय ५१ निर्धारण गरिएकामा यस वर्ष रु पाँच सयमात्र निर्धारण गरिएको बताए। गङ्गासागरमा गङ्गासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरङ्ज युवा क्लबले छठको तयारी गर्ने गरेको छ ।
जनकपुरधामको प्रसिद्ध गङ्गासागर, धनुष सागर तथा अङ्गराज पोखरीमा मात्र ११ हजारभन्दा बढी श्रद्धालु छठ पूजा गर्ने गर्छन् । जनकपुरधामको छठ पर्व सबैभन्दा प्रसिद्ध रहेको बताइएको छ । यसका लागि यहाँ हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ । जनकपुरधामका साथै धनुषाका गाउँगाउँमा रहेका पोखरीसमेत छठपर्वमा सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।
तराई मधेसमा मात्र मानिने छठ पर्व अब देशको अधिकांश सहरहरूमा विस्तार भइसकेको छ। हरेक वर्ष ब्रतालुहरूको संख्या बढ्दो छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने एकमात्र पर्व छठ हो।